
काठमाडौं— गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा प्रदेश सभा बैठकमा सहभागी भएका छन्।
यसअघि बिहीबारको बैठकमा उनलाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीको कारबाहीमा परेका देवकोटाले सर्वोच्चबाट कारबाही नहुने आदेश पाए पनि हिजो प्रदेश सभा प्रवेशमा रोक लगाइएको थियो। तर चौतर्फी रुपमा त्यसको विरोध भएपछि उनलाई आजको बैठकमा प्रवेश गराइएको हो। साथै प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उनको कारबाही कार्यान्वयन नगराउने सर्वोच्चको पत्र समेत पढेर सुनाएका छन्।
देवकोटा गत निर्वाचनमा गोरखा क्षेत्र नं २ (१) बाट निर्वाचित भएका थिए। माओवादीको चुनाव चिह्नबाट निर्वाचित देवकोटाले दलीय ह्वीप उल्लंघन गरेको भन्दै उनी कारबाहीमा परेका हुन्। त्यसकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका देवकोटाको पक्षमा फैसला गर्दैै सर्वोच्चले उनीमाथि गरिएको कारबाही कार्यान्वयन नगराउन माग गर्दै अन्तरिम आदेश जारी गरेको हो।
उनले बुधबार नै प्रदेश सभा सचिवालयमा त्यसको जानकारी गराएका थिए। तर प्रदेश सभाले त्यसलाई बेवास्ता गरेपछि बिहीबारको बैठकमा उनलाई प्रवेश निषेध गरिएको थियो।