
काठमाडौं— गण्डकी प्रदेशका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेश सभा हलमा प्रवेश गर्न निषेध गरिएको छ।
अहिले प्रदेश सभा बैठक चलिरहेको छ, तर उनी भने आफू बाहिरै रहेको न्यूजगृहलाई जानकारी दिए।
नियमित रुपमा बैठकमा सहभागि हुन त्यसतर्फ जाने क्रममा उनलाई प्रदेश सभाका मर्यादा पालकले रोकेका हुन्।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको थियो। माओवादीको कारबाहीपछि सांसद पदबाट समेत मुक्त भएका देवकोटा सर्वोच्चको फैसलासँगै पुनः पद पुनर्बृहालीपछि बैठकमा सहभागि हुन गएका थिए।
माओवादीको कारबाहीपछि सर्वोच्चमा रिट दायर गरेका देवकोटालाई कारबाही कार्यान्वयन नगर्न असार १० गते सर्वोच्चले परमादेश दिएको हो। गत निर्वाचनमा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएको भन्दै दलीय ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै माओवादीले उनलाई कारबाही गरेको थियो। उनी डा. बाबुराम भट्टराईृ नेतृत्वको नेसपाका नेता हुन्।
सर्वोच्चको फैसलापछि प्रदेश सभा सचिवालयमा समेत उनले जानकारी गराएका थिए। आजै प्रदेशका सभामुखलाई भेटेको र सबै सहज रुपमै अघि बढिरहेको अवस्थामा मर्यादापालकले रोकेपछि आफू बाहिरै बसेको उनले बताए।
‘आजै मैले सभामुखज्यूसँग पनि भेटेर सर्वोच्चको फैसलाबारे जानकारी गराएको थिएँ, उताबाट केही रेस्पोन्स आएन,’ उनले भने, ‘प्रदेश सभा सचिवालय त्यसलाई सहज रुपमा लिएको बुझेर म बैठकमा सहभागि हुन पुगे तर मर्यादापालकले एकछिन बाहिर बस्नुस् भनेर रोक्नुभयो। भित्र बैठक चलिरहेको छ, म बाहिर बसिरहेको छु।’