News Griha :: न्यूजगृह
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने 

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी असार २१ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्। 

डा. सिके राउत नेतृत्वको जनमतका प्रदेश सभा सदस्य सिंह गत जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन्। उनलाई ५५ जना प्रदेश सभा सदस्यको समर्थन रहेको थियो। विश्वासको मतका लागि प्रदेश सभामा कायम भएका ५४ जनाको समर्थन आवश्यक रहन्छ। त्यसो हुँदा उनको दल जनमतसहित अन्य गठबन्धनमा आवद्ध दलको समर्थनमा बहुमतमा रहेका सिंहले विश्वासको मत लिने तयारी गरेका हुन्। 

यसअघिका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि मधेसमा नयाँ सरकार गठन भएको हो। 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:२६
Weather Update