News Griha :: न्यूजगृह
विवाहको बहानामा युवतीलाई चीन पुर्‍याएर बेच्ने सुन्दरी पक्राउ 

काठमाडौं— विवाहको बहानामा युवतीलाई चीन पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका—१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भएको र  चिनियाँ नागरिकसँग बिहे गर्दा भविष्य राम्रो हुने भन्दै उनलाई प्रलोभन दिएर चीन पुर्‍याएको खुलेको छ। 

तर उनले त्यहाँ लगेर पीडितलाई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको  प्रहरीले जनाएको  छ। 

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:३९
Weather Update