News Griha :: न्यूजगृह
६० केजी सुन तस्करी प्रकरण: दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा, २० जना पक्राउ

काठमाडौं— हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्र्याइएको ६० केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। 

उनले भने, ‘६० केजी सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ गरी छानबिन गरिएको छ, १५ जना अझै फरार छन्, यस विषयमा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने छ।’ 

दोस्रो चरणको अनुसन्धानका सीआईबीले भारतीय नागरिक प्रशान्तगणेश वजवलकर, सिद्धनाथअशोक गायकवाड, बैजनाथमहादत्त गोयल, धीरजदिनेश वैट, पर्साका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका राजु खत्री र सुशील जाकिबन्जा, काभ्रेका कान्छा लामा, भीमप्रसाद तिमल्सिना र रूपक भण्डारी, काठमाडौंका प्रज्वल आचार्य, सुरजशमशेर जबरा र कश्यप मानन्धर, गुल्मीका लालबहादुर कुँवर, बाराका अरुणकुमार यादव, तिब्बतियन नागरिक गङ्गा टासी तथा सेराप भन्ने सोनम गुरुङलाई पक्राउ गरी थुनामा राखिएको प्रवक्ता बोगटीले बताए।

उनका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गलाउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रुपमा संलग्नहरूमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजी कार्य जारी छ।

उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। यसअघि सीआईबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २१:५६
Weather Update