काठमाडौं— प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।
प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो। विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए।
बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कर्मकाण्डी रुपमा मात्रै छलफल भएको भन्दै आपत्ति समेत जनाएका थिए। तर आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा कमीकमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गरेर जाने समेत बताएका छन्।