काठमाडौं— बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ।
आइतबार उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा २ अर्ब ९९ करोड २२ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेकी हुन्।
उनले चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको वार्षिक बजेट तथा कार्यक्रम पेस गरेको जानकारी गराइन्।
त्यस्तै बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ।
शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको उपप्रमुख अर्यालले जानकारी दिइन्।
उनका अनुसार उपमहानगरले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल संचालन गर्ने गरी बजेट विनियोजन गरिएको छ।
त्यस्तै बजेटले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा पनि थप १ सय बेडको अस्पताल निर्माण गर्ने भएको छ। त्यसका लागि उपमहानगरले आगामी वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ।