![दक्षिण कोरियाका राजदूत सिफारिस सुशील प्याकुरेलले गरे पद अस्वीकार [पत्रसहित]](https://newsgriha.com/uploads/posts/sushil-pyakurel-d-(1)-1719138123.jpg)
काठमाडौं— दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा सिफारिस भएका सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भागबण्डाका आधारमा विभिन्न देशका राजदूत सिफारिस गरेको थियो। त्यसमध्ये मानवअधिकारकर्मी प्याकुरेलको नाम पनि सिफारिस भएको थियो। तर प्याकुरेलले भने आफूले उक्त पद अस्वीकार गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन्।
उनले आफूलाई राजदूत सिफारिस गर्दा परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै जानकारी नआएको बताए। साथै राजदूत जस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिको पृष्ठभूमि, कार्य दक्षता, रुचि लगायत विषवस्तु नहेरीकन गरिएको भन्दै आफू आश्चर्यचकित भएको समेत बताए।
‘मैले प्रस्ट शब्दमा उल्लेख गर्ने पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन। राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु’, उनले विज्ञप्ति जारी गर्दै भनेका छन्।
त्यस्तै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै आफूप्रति गरेको विश्वासप्रति धन्यवाद दिँँदै आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्र्दै पत्र पठाएको बताए।
‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु। यसबिच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु,’ उनले भनेका छन्।