News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी 
फाइल तस्बिर।

काठमाडौं— मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।

भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।

दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए ।

डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । 

भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए ।

अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए । तुलाधर महिला तथा बालअधिकारको क्षेत्रमा लामोसमयदेखि काम गरेकी व्यक्ति हुन् । तिमिल्सिना गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।

बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन् । राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन् । मुसलमान जसपाका बाँकेका नेता हुन् । मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको संसदीय सुनुवाइ पुरा भई एग्रिमो आएपछि नियुक्ति हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:५२
Weather Update