-1717655237.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेर ल्याउन के कुराले रोकेको भन्दै प्रश्न गरेका छन्।
आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सो प्रश्न गरेका हुन्। यसअघि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष समेत रहेका राई फरार रहेको र उनी बसेको ‘लोकेसन’ पत्ता लागिसकेको दाबी गरेका थिए।
सोही विषयमा प्रश्न उठाउँदै महामन्त्री शर्माले उनले भने, ‘देशलाई जीबीको लोकेसन होइन, जीबी राई चाहिएको हो। अब त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछ्याएर बल्ल दुई पक्षीय वार्ता हुने हो? गृहमन्त्रीजीले लोकसेसन पत्ता लागेको भनेर भनेको चार दिन भयो, प्रतिपक्षमा हुँदाखेरी उहाँले भनेको वाक्य सम्झिन्छु सरकारले पक्रिनै चाहेन। पक्रिन चाहेको भए यतिका बेलासम्म पक्राउ गरिसक्थ्यो। लोकेसन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ?’
गृहमन्त्री लामिछानेले यसअघि नै मलेसियामा जीबी राई रहेको र त्यहाँबाट पक्राउ गरेर ल्याउन सुपुर्दगी सन्धि नभएका कारण ल्याउन नसकिएको बताएका थिए। तर यसअघिको उदाहरण दिँदै शर्माले नियत सफा राखेमा पक्राउ गर्न कुटनीतिक पहल गर्न सकिने बताए।