News Griha :: न्यूजगृह
जीबी राईको लोकेसन पत्ता लागिसक्यो- गृहमन्त्री लामिछाने
फाइल तस्बिर।

चितवन— चितवन पुगेर गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागेको बताएका छन् । 

बिहीबार बिहान चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले जीबी राईको लोकेसन कन्फर्म गरिसकेको बताए ।

उनले मलेसियाका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । गृहमन्त्री लामिछानेले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेसियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो ।

तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेसियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:४१
Weather Update