
वीरगञ्ज— पर्साको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ। ठोरी गाउँपालिका— ४ गोरखपुर टोलबाट प्रहरीले २० किलोग्राम बढी तौलको दुईवटा हात्तीको दाह्रा बरामद गरेको हो।
पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दाह्रा खरिदबिक्री भइरहेको सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए। स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दाह्रा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए।
हात्तीको दाह्रा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगञ्ज महानगरपालिका—१४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडिओ र फोटोसमेत बरामद गरेको छ।
डिभिजन वन कार्यालय पर्साको सहकार्यमा अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन्।













