
रौतहट— आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आआफ्नै गुण महत्व र विशेषताहरू नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टि कै कारण यसलाई फलको राजा भनिन्छ।
प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जे सँग मिसाएर खाँदा पनि सन्तुष्टि पाइन्छ । हुन त शहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ ।
तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृतिम रूपमा पकाएको आँप मानव स्वास्थ्यको लागि मन्द विष बन्दै गएको छ । फलको राजा आँपलाई विष बनाएर खुलेआम बिक्री गरिरहँदा पनि राज्य मुकदर्शक बनेको छ ।
आँपको इतिहास:
हजारौँ वर्ष अगाडि पूर्वोत्तर भारत, म्यान्मार र बङ्गलादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहिले नाम 'आम्र-फल' राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा 'रसाला' र 'सहकार' को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषत् र पुराणमा पनि पाइन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ ।
दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा 'आम-काय' राखिएको छ । जुन बोलचालको भाषामा बदलेर बिस्तारै 'मामकाय' बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर 'मांगा' को नाम बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको इतिहास छ ।
आँप र बुद्धबीचको सम्बन्ध
समय परिवर्तन हुँदै गयो, तर आप प्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समय कालमा आँपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको उदयसँगै, आप र बुद्ध धर्मका अनुयायी बीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो ।
त्यस समय आमलाई एउटा उपहारको रूपमा आदानप्रदान गर्न सुरु गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आँपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आप फल मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।
समृद्धिको प्रतीक आँप
प्राचीन भारतका सुरुआती लेखक-यात्री मेगस्थनीज र ह्सियुन-त्सांगले लेखेका छन्- कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आँपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सडक राजमार्गहरूको छेउमा आँपको बिरुवा लगाउँथे ।
यसको अलावा उनीहरूले आप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसको कारण आप भारतभन्दा बाहिर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासिहरु र स्वामी चक्रधरको दत्तराय सम्प्रदायले पनि यस फललाई प्राचीन भारतको जन-जनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
मुगल कालको अलाउद्दीन खिलजी आँपको पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलगअलग किसिमको आँपको अलावा केही पनि थिएन । यसको अलावा आँपको एउटा छुट्टै कथा छ, जुन आँपप्रति मुगलहरूको प्रेम दर्साउँछ ।
भनिन्छ उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आँपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आँपको रूख थियो ।
तोतापुरी, रटौल र केसरसहित महँगो जातको आँपको सुरुआत त्यहीँबाट भएको मानिन्छ । यसको अलावा प्राचीनकाल भारतीय शासकहरूसँग जोडिएको आँपको अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।
अङ्ग्रेजहरूले कम गरे आँपको वर्चस्व
युरोपीयनहरूले भारतमा आएपछि आँपको वर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाँट पनि बिस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनउ, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक वर्ष म्याङ्गाे फेस्टिभल मनाइन्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा तर को पहिचान गराउन मद्दत गर्छ ।
यस्तो इतिहास बोकेको फलको राजा आँपलाई अतिज्वलनशील पदार्थ कार्बाइड प्रयोग गरी पलाएर मन्द विषको रुपमा बनाई रहँदा राज्य मुकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताको कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्बाइड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सूर्या अस्पताल वीरगञ्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन।
विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ । त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगञ्जका अर्का डा. अशोक दासले बताएका छन ।
‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ,’ दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँप केमिकल राखेर जेठ असारमै सकाइ रहेका छन् । यसरी मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड भइरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरू बताउँछन् ।