
मकवानपुर — विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा–११ स्थित थानाभर्याङमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्त टोलीले बिहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखाका ३७ वर्षीय सलाम मोक्तान, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटका ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुसाल, धनकुटाका २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले पक्राउ परेकाहरूले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स बटम बनाएर लामो समयदेखि विभिन्न सामानहरू अवैधरूपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको बताए।













