-1718890113.jpg)
काठमाडौं— सुनसरीका २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर उपमहानगर–४ का २४ वर्षीय गणेश यादव रहेका छन्।
बुधबार गणेशले सुनसरीको दुहवी नगरपालिका–१२ का अक्लेशकुमारको चक्कु प्रहार गरी हत्या गरेका थिए।
अक्लेशकुमार गणेशको छिमेकमा पाहुँना लाग्न गएका थिए। बुधबार राति खानपिनको क्रममा दुईबीच सामान्य विवाद भएको थियो। विवाद लम्बिएपछि गणेशले अक्लेशकुमारलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
कार्कीका अनुसार राति १० बजेको समयमा विवाद भएपछि अक्लेश मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान लागेका थिए, तर सोही क्रममा उनीमाथि चक्कु प्रहार भएको हो।
अक्लेशको बाँया कोखामा गहिरो चोट लागेको थियो। बुधबार राति नै उनलाई नोबेल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा बिहीबार निधन भएको हो।
चक्कु प्रहार गरेर गणेश भने फरार रहेका थिए। उनी भारततिर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













