
काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि कारबाहीमा परेका फणीन्द्र देवकोटाले सर्वोच्चमा रिट दिएका छन्।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले उनीमाथि कारबाही गरेको थियो। बिहीबार देवकोटाले त्यसकोविरुद्ध देवकोटाले सर्वोच्चमा रिट दायर गरेका हुन्।
गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै रिट दर्ता गरेका हुन्।
देवकोटाले गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट दायर गरेका हुन्।
गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाकै सांसद रहेको दाबी गर्दै आएका छन्। तर माओवादी केन्द्रले भने आफ्नो चुनाव चिह्नबाट निर्वाचित भएको भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन जारी गरेको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको हो।
गत जेठ ३२ गते माओवादीले कारबाही गरेको पत्र सुुनाउँदै सभामुख घितालले पदमुक्त भएको जानकारी प्रदेश सभालाई गराएका थिए।
उनले माओवादीले कारबाही गरेको जेठ २९ र ३२ गतेको कारबाहीको पत्र कार्यान्वयन नगर्नु र आफूलाई प्रदेश सभा सदस्यको हैसियतमा काम गर्न रोक नलगाउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन्।













