
काठमाडौं— गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा पदमुक्त भएका छन्।
दलीय ह्वीप उल्लंघन गरेका देवकोटालाई माओवादी केन्द्रले कारबाहीका लागि सिफारिस गरेको थियो।
सोही आधारमा आज बसेको प्रदेश सभा बैठकमा प्रदेशका सभामुख कृष्णप्रसाद धितालले माओवादीले उनलाई प्राप्त सिफारिसका आधारमा कारबाही गरिएको जानकारी गाएका हुन्। त्यससँगै उनी पदमुक्त भए।
गत निर्वाचनमा गोरखा–२ (१) बाट नेपाल समाजवादी (नेसपा) का देवकोटा माओवादीको चुनाव चिह्नबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने ह्वीप जारी गरेको गरे पनि देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए।
उनलाई सो विषयमा माओवादीले स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नपाएको भन्दै माओवादीले आज कारबाही गरेको हो।
उनी हाल गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका छन्।
उनी पदमुक्त भएसँगै अब गण्डकीमा राजनीतिक संकट पैदा हुने देखिन्छ।