-1718883177.jpg)
काठमाडौं— प्रहरीले अवैध लागुऔषध साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ।
लागुऔषध ब्युरोले आज पत्रकार सम्मेलन गर्दैै विभिन्न मितिमा पक्राउ परेका उनीहरुबारे जानकारी दिएको हो।
ब्युरोका अनुसार पक्राउ पर्नेहरुमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी रहेका छन्।
उनीहरुको साथबाट ४ किलो ५ सय ४ ग्राम कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रहरीका अनुसार डोनाल्डले इथियोपियामा कोकिनका १८ वटा क्याप्सुल निलेर दूबई हुँदै नेपाल आएका थिए। उनी ठमेलको एक होटेलमा बसेको अवस्थामा ब्युरोको टोलीले पक्राउ गरेको हो। सो समयमा उनले १८ वटा क्याप्सुल निकालिसकेका थिए।
उनको पेटबाट ५९ वटा १ केजी २०६ ग्राम क्याप्सुल समेत निकालेको छ। उनको अहिले प्रहरी अस्पतालमा उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै बोलिभियन लाउर क्रुजले पनि कोकिनका १ सय २१ वटा क्याप्सुल कपडाको बटनमा लुकाएर ल्याएकी थिइन्। उनको साथबाट २ किलो १ सय ग्राम कोकिन बरामद गरिएको हो।
साथै भेनेजुयलाबाट आएका सिमोन पनि क्याप्सुल आकारका कोकिन निलेर ब्राजिलको साउपाउलबाट काठमाडौं आएका हुन्। उनको साथबाट १ किलो १ सय ९८ ग्राम कोकिन बरामद गरिएको हो।
त्यस्तै उक्त कोकिनको व्यवस्थापनका लागि लालरु उत्सङ्गी नेपाल आएकी थिइन्। शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको हालसम्म ११ किलो कोकिन बरामद गरिएको समेत जनाइएको छ।













