News Griha :: न्यूजगृह
बङ्गुरपालनबाट मनग्य आम्दानी

घोराही— घोराही उपमहानगरपालिका–१७ गैरागाउँका ठाकुरप्रसाद चौधरीको मुख्य पेसा बङ्गुरपालन हो। उनले यो व्यवसाय गरेको पनि १२ वर्ष भइसक्यो। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि पेसामा बङ्गुरपालन रोजेको उनी बताउछन्। उमेरले ३५ वर्ष पुगेका ठाकुरले रमन बङ्गुर तथा कृषि फर्ममार्फत व्यवसाय गर्दै आएका छन्। 

रोजगारीका लागि ठूलो लगानीमा विदेश गएर अर्काको देशमा पसिना बगाउनुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नका लागि व्यवसाय गर्दै आएको र आम्दानी पनि राम्रो हुँदै गएको उनले बताए। ‘ठूलो लगानी गरेर विदेसिनुभन्दा सोही खर्चमा मेहनत गरे राम्रो आम्दानी हुन्छ,’ उनले भने, ‘पैसा पनि राम्रो कमाइने र आफैँ मालिक पनि बन्न सकिन्छ।’ 

उनको फार्ममा अहिले साना ठूला गरेर ९० बङ्गुर रहेका छन्। झण्डै ५० साना पाठापाठी, ठूला माउ र बेलन ४० छन्। एक वर्षसम्म पहिले बजारीकरणमा केही समस्या भए पनि अहिले भने विस्तारै सहज हुँदै गएको उनी बताउँछन्। 

उनले भने, ‘मेरो आफ्नै पसल पनि रहेको छ, ठूला  बङ्गुरलाई पसलमै काटेर मासु बेच्ने गरेको र साना पाठापाठीलाई एक महिना पुगेपछि बेच्दै आएको छु, जसका कारण बजारीकरणको त्यति समस्या भएको छैन्।’ 

किसान ठाकुरले पाठापाठीलाई रु पाँच हजारका दरले बिक्री पनि गर्दै आएका छन्। 

मासु भने उनले तीन सय ८० किलोका दरले दैनिक ८० देखि एक सय २० किलो बिक्री गर्दै आएको बताउँछन्। बङ्गुरपालन व्यवसायबाट उनले वार्षिक ६–७ लाख बचत गर्न सफल भएको बताए। 

सुरुमा घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्रबाट ५० हजार ऋण लिएर १० वटा पाठापाठीबाट सुरु गरेको व्यवसायले सोचेभन्दा राम्रो प्रतिफल दिँदै गएको उनको भनाइ छ। उनले फार्ममा र पसलमा गरेर दुई स्थानीय युवालाई रोजगारीसमेत दिएका छन्। 

उनले व्यवसायका लागि १८ कठ्ठा जग्गा भाडामा लिएको र त्यसको भाडा वाषिक रु एक लाख तिर्ने गरेको बताए। विभिन्न समयमा बङ्गुरमा लाग्ने रोगका कारण किसानलाई समस्या पर्ने भए पनि यस व्यवसायको सम्भावना आगामी दिनमा राम्रो रहेको उनको अनुभव छ। अन्य कुनै रोजगार नभएकाले यसैलाई निरन्तरता दिँदै जाने उहाँ बताउँछन्।

कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाएका किसानलाई राज्यले पनि विभिन्न सहयोगका कार्यक्रम ल्यायो भने अझ सहज हुने उनको भनाइ छ। अन्य युवालाई पनि धेरै रकम खर्चेर विदेश जानुभन्दा स्वदेशमै कुनै पनि व्यवसायमा जोडिएर जीविकोपार्जन गर्न उनी आग्रह गर्छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:०७
Weather Update