
काठमाडौं— संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवानले भिडिओ कल गरेर आफैँमाथि गोली चलाएको खुल्न आएको छ।
बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले आफैँमाथि गोली चलाएका हुन्। उनको मृत्यु भइसकेको र शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले न्यूजगृहलाई दिएको जानकारी अनुसार गोले आफैँ आफ्नो निधारमा गोली हानेका हुन्। शौचालयमा उनले मोबाइलमा भिडिओ कल गर्दै आफूमाथि गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीले बताए।
‘अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्जमा पठाएका छौँ,’ उनले भने, ‘भिडिओ कल गरेर आफैँलाई हानी पुर्याएको देखिन्छ।’
गोलेले शौचालयका भित्तामा मोबाइल अड्काएर प्रेमिकालाई भिडिओ कल गरेर आत्महत्या रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। अहिले उक्त मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइएको एसपी अधिकारीले बताए। साथै त्यसबाट अनुसन्धानका लागि थप तथ्य मिल्ने उनले बताए।
‘मोबाइलमा को व्यक्तिसँग भिडिओ कल गरेको हो भन्ने पत्ता लगाउँदैछौँ, मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौँ,’ उनले भने, परिवार समेत सम्पर्कमा आइसकेको कारण घटनाको मुख्य जड छिट्टै पत्ता लगाउनेछाैँ।’
गोले प्रेम सम्बन्धमा रहेको र प्रेममा दरार आएपछि उनले त्यस्तो निर्णय लिएको हुनसक्ने प्रहरीको आशंका रहेको छ।
उनी दोलखाको मेलुङ गाउँपालिका– ४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद् सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए।













