
काठमाडौं— ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौं ल्याइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए। ६० केजी सुन तस्करी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० पुगेको ब्युरोले जनाएको छ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ मा सुनसहितको १५५ केजी ‘ब्रेक शु’ बरामद गरेको थियो । तर, गालेर जोख्दा ६० केजी मात्रै सुन भएको खुलेको थियो।
यो प्रकरणमा १९ दिनसम्म अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो ।













