News Griha :: न्यूजगृह
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार

काठमाडौं— काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा सञ्चालित ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ। 

उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार अनुगमनको क्रममा २ देखि ८ डिग्री सेन्टिग्रेडका बीचमा कायम गर्नुपर्ने भ्याक्सिन र इन्सुलिन १३ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको पाइएको थियो ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्नाले उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि फार्मेसी पनि बन्द गरिएको छ ।

 ‘औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधि बेच्न, अरु सामानलाई औषधि भनेर बेच्न पाइँदैन । यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० वर्षसम्म वा जरिवाना हुने कानुनी व्यवस्था छ,’ उनले भनिन् । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:१०
Weather Update