News Griha :: न्यूजगृह
लुम्बिनीमा पनि ढल्यो एमाले सरकार

काठमाडौं— लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राखेको प्रस्तावमा आवश्यक मत नपाएका हुन् ।

गिरी नेतृत्वको सरकारको निरन्तरताका लागि उनले राखेको प्रस्तावको पक्षमा ३३ मत प्राप्त भएको छ । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ मत प्राप्त भएको थियो । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो ।

प्रदेशसभामा रहेका ८७ जना प्रदेशसभा सदस्यमध्ये सरकारको निरन्तरताका लागि ४४ मत आवश्यक थियो । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् ।

मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा, जनमत तीन/तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक/एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले सङ्घीयता कार्यान्वयनका लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका थिए ।

उनले आफ्नो कार्यकालको सय दिनको अवधिमा लुम्बिनी प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले संघीयता कार्यान्वयनका लागि थप आधार पनि निर्माण गरेकोसमेत बताए ।

मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मूल उद्देश्य पूरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको बताए । उनी २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:०६
Weather Update