News Griha :: न्यूजगृह
१८ अंकले घट्यो शेयर बजार     

काठमाडौं— सार्वजनिक बिदापछि खुलेको शेयर बजारको कारोबार ओरालो लागेको छ। मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को बिन्दुमा रह्यो। 

आज ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 

यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ बिन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो।

मंगलबार १३ उपसमूहमा सबै घटेका छन्। वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन्। १९८ कम्पनीको शेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन्। यी दुई कम्पनीको शेयरमा नेगेटिभ सर्किट लागेको छ। 

बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको शेयर मूल्य पनि घटेको छ। 

जलविद्युत उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलविद्युत कम्पनी नै परेको छ। वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको शेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। 

४० कम्पनीको शेयरमूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकता छन् । उक्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन्। ९ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:०३
Weather Update