
काठमाडौं— आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गैरसरकारी संस्था (एनजीओ) का प्रतिनिधिसहित खाजाको प्रवेशको चौतर्फी आलोचना भइरहेको छ।
समितिका सदस्यहरुलाई बैठक बस्ने दिन सरकारले नै खाजा उपलब्ध गराउने भएपनि सो दिन बैठकमा अनौठो दृष्य देखा परेको थियो। बैठकमा एनजीओका प्रतिनिधि खाजासहित आफैँ उपस्थित रहेका थिए। सो क्रममा सभाका सदस्यहरुले आपत्ति जनाएका थिए। बैठकमा सहभागि हुन पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्यसमा आपत्ति जनाउँदै बाहिर निस्किएपछि बैठक नै स्थगित भएको थियो।
त्यसको सदनमा समेत विरोध भएपछि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले त्यस्ता किसिमका सहयोग नगर्न निर्देशन दिएका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै महासचिव पाण्डेले सचिवहरु, सबै समिति र संघीय संसद्लाई त्यस्तो निर्देशन दिएका हुन्।
आइतबार मात्रै होइन यसअघि पनि स्वार्थ समूहले समितिहरुलाई खाजा लगायत अन्य सुविधा उपलब्ध गराउने गरेको थियो। त्यस विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समेत सम्बन्धित पक्षसँग छलफल गरेर त्यसलाई रोक्न माग गरेका थिए।
‘संघीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ)हरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।