News Griha :: न्यूजगृह
राज्य व्यवस्था समितिमा ‘एनजीओ’ को खाजा, गृहमन्त्री हिँडेपछि स्थगित भयो बैठक 
फाइल तस्बिर

काठमाडौं— गैरसरकारी संस्था ‘एनजीओ’ को खाजाले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुग्यो। 

आइतबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो। 

उक्त बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत उपस्थित रहेका थिए।  

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल।’ बैठकको मुख्य विषयवस्तु रहेको थियो। 

बैठकमा नियमित जसरी नै समितिका सदस्यहरु पुग्दा त्यहाँ राखिएको खाजाको विषयले बैठक नै स्थगित हुन पुगेको हो। समिति सदस्यहरु पुग्दा बैठकको टेबलमा ‘भीआईपी’ खाजाको व्यवस्था गरिएको थियो। त्यहाँ खाजा मात्रै थिएन, खाजाको ‘स्पोन्सर’ गर्ने एनजीओका प्रतिनिधि समेत उपस्थित रहेका थिए। जसको कारण समितिका सदस्य (सांसद) हरुले त्यसबारे समितिका सभापति रामहरि खतिवडासँग जिज्ञासा राखेका थिए। सो क्रममा सभापति खतिवडाले बाहिरबाट ‘स्पोन्सर’ गरिएको भनेपछि सांसदहरुले कानुन निर्माणका विषयमा छलफल हुने थलोमा बाह्य व्यक्तिको प्रवेशलाई आश्चर्य मान्दै निरन्तर प्रश्न गरिरहेका थिए। साथै छलफलमा भाग लिन पुगेका गृहमन्त्री लामिछानेले समेत सो विषयमा आपत्तिजनक रहेको बताएपछि त्यहाँको माहोल केही बिग्रिएको थियो। त्यहाँ रहेका एनजीओका प्रतिनिधिले उठेर आफूले आजको खाजाको प्रबन्ध गरेको बताएपछि गृहमन्त्री लामिछाने बैठक छाडेर हिँडेका थिए।

त्यसपछि समितिका सदस्यहरु केहीबेर आन्तरिक छलफलमा रहे पनि उनीहरु समेत हिँड्न थालेपछि केहीबेरमा बैठक समेत स्थगित हुन पुगेको थियो। 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:१६
Weather Update