News Griha :: न्यूजगृह
तनहुँमा रास्वपाको जित सुनिश्चित !

काठमाडौं— प्राप्त मतपरिणामको ‘स्टाइल’ हेर्दा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित देखिन्छ ।

तनहुँ क्षेत्र नम्बर १ मा ४२ वडा पर्छन्  । ४२ मध्ये २० वडाको मतगणना सकिएको छ । जसमा स्वर्णिमले सबैभन्दा बढि मतप्राप्त गरेका छन् । पछिल्लो मतपरिणामअनुसार स्वर्णिमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई करिब आधा मतान्तरले पछाडि पारेका छन् ।

हालसम्म गणना भएको मतपरिणामअनुसार स्वर्णिमले १३ हजार ७४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९४ मत प्राप्त गरेका छन् ।  

swornim-sobita1682324888.jpg

निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार हालसम्म २९ हजार ८०२ मत गणना भइसकेको छ । आइतबार भएको उपनिर्वाचनमा ६५ हजार ९९ मत खसेको थियो । तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् । 

‘कांग्रेसले मतान्तर केही कम चाहीँ गरेको छ । तर मतगणनाबाट प्राप्त मतको रेसियो हेर्दा स्वर्णिमले सहज रुपमा जित्ने देखिन्छ’, मत परिणास्थलमा रहेका पत्रकार सागरराज तिमिल्सिनाले भने,‘कांग्रेस, एमालेको गढ मानिएको क्षेत्रमा पनि स्वर्णिमले लिड गरिरहेका छन् ।’ ३० हजार मत गन्दा वाग्लेले प्राप्त मत गरेको संख्या करिब ५० प्रतिशत हो । र, यही शैलीमा उनको मत बढ्दै जाने हो भने बाँकी ४० हजार मत गन्दा उनले करिब २० हजारको हाराहारीमा मत लिने देखिन्छ ।


मतपरिणाममा केही सुधार आइरहँदा नेपाली कांग्रेसले अझै आफ्नो उम्मेदवारको पक्षमा मतपरिणाम आउन सक्ने आश गरेको छ । ‘करिब २२ वटा वडाको मत गन्न अझै बाँकी छ । गोविन्द भट्टराईको पक्षमा मत बढ्दै गएको स्थितिमा दुई तिहाइ मत गन्न बाँकी रहेको परिस्थितिमा मतपरिणाम हाम्रो पक्षमा आउन सक्ने पनि देखिन्छ’, एक कांग्रेस नेताले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री अशोक खड्काले भने मतपरिणामको शैली हेर्दा आफूहरूको जित सुनिश्चित भएको दाबी गरे । ‘कांग्रेस र एमालेले आफ्नो पकेट क्षेत्र मानेको ठाउँमा पनि हाम्रो उम्मेदवारको मत धेरै आएको छ’, खड्काले भने, ‘मतपरिणामको यो शैली फेरिने देखिन्न ।’ 

रास्वपाले तनहुँ १ मा आफ्नो उम्मेदवारले १० हजार भन्दा बढि मतान्तर सहित जित निकाल्ने दाबी गरेको छ ।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:०४
समसामयिक
Weather Update