News Griha :: न्यूजगृह
स्वर्णिमले १० हजार मतान्तरले जित्छन् : रास्वपा

काठमाडौं— चुनावी घरदैलोको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसहितको टोली तनहुँ क्षेत्र नम्बर १ को आँबुखैरेनीको एक घरमा पुग्यो । स्वर्णिमले नमस्कार गर्दै आफ्नो पक्षमा भोट मागे । घरधनी घरभित्र छिरे । एकैछिन त चुनावी उम्मेदवार र उनीसँग भोट माग्दै त्यहाँ पुगेको टोली अचम्ममा प¥यो । एकैछिनपछि ती घरधनी भित्रबाट रास्वपाको झण्डा बोकेर निस्किए । उनले भने, ‘म पनि तपाईंहरूसँगै घण्टीमा भोट माग्न जान्छु । मेरो घरमा त नआएको भएपनि हुन्थ्यो ।’

उपचुनावको क्रममा तनहुँ क्षेत्र नम्बर १ मा अन्य दलको तु्लनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति मतदाताहरूले अत्याधिक आशक्ति देखाएका छन् । पार्टी परिवर्तन नगरेपनि यसपटक मत परिवर्तन गर्ने मनसाय अधिकांश मतदातामा देखिन्छ । ‘यो पटक मैले स्वर्णिम वाग्लेलाई नै मत हाल्ने हो । भलै, म पार्टीगत हिसाबले रास्वपामा छैन । तर भोट चाहीँ घण्टीमै हाल्ने हो ।’ बन्दीपुर गाउँपालिका धापटारका लक्ष्मण थापाले भने–‘ठुला पार्टीका नेतृत्वलाई सबक सिकाउने हो ।’

तनहुँ क्षेत्र नम्बर १ को उपचुनावको लागि रास्वपाका वाग्लेसहित नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । अन्य दलबाट सो क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिहरू भएपनि मतदाताबीच उनीहरूको चर्चा छैन । समग्रमा यो चुनावमा यी तीन उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । विभिन्न सर्वेक्षणहरूले चुनावी प्रतिस्पर्धामा स्वर्णिम सबैभन्दा अगाडि रहेको देखाउँछ । 

तनहुँ १ का मतदातामध्ये धेरैले यो पटक स्वर्णिमलाई नै भोट हाल्ने बताउँछन् । आँबुखैरेनीमा व्यापार गर्दै आएका राम श्रेष्ठले यो पटक घण्टीमै भोट हाल्ने सुनाए । ‘नेपाली राजनीतिलाई सुधार्नका लागि भएपनि नयाँ अनुहार र नयाँ पार्टीलाई अवसर दिनुपर्छ भनेर मैले भोट परिवर्तन गर्न लागेको हुँ,’ श्रेष्ठ भन्छन् । त्यस्तै, आँबुखैरेनीमै व्यवसाय गर्दै आएका अर्का व्यवसायी मिलन मल्लले पनि श्रेष्ठको कुरामा सहमति जनाए । ‘त्यसो त कांग्रेसका गोविन्द भट्टराई पनि निकै राम्रा मान्छे हुन् । तर, कांग्रेसले उनलाई गलत समयमा टिकट दिएर बलिको बोका बनायो ।’ उनले एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुई प्रतिस्पर्धीको तुलनामा निकै कमजोर भएको प्रतिक्रिया दिए । 

तनहुँ १ को स्थलगत अवस्था हेर्दा पनि एमाले उम्मेदवार खनाल कमजोर देखिन्छन् । रास्वपा र कांग्रेस उम्मेदवारको भिडन्तमा फाइदा लिने रणनीतिमा रहेको एमाले चु्नावी घरदैलोको अन्तिम दिनसम्म आइपुग्दा तनहुँ १ मा कमजोर हुनुमा पार्टीले गरेको उम्मेदवार चयन गलत भएको मतदाताको तर्क छ । 

रास्वपा गण्डकी प्रदेशका पूर्वप्रवक्ता बोधराज रेग्मीका अनुसार तनहुँ १ को माहौल र जनलहरले चुनाव जित्ने कुरामा पार्टी ढुक्क छ । त्यस्तै, उम्मेदवार वाग्ले पनि आफू जित नजिक रहेको र जनताले आफूप्रति गरेको भरोसा ‘अद्वित्तीय’ रहेको प्रतिक्रिया दिए । 

बिहीबार चुनाव प्रचारको क्रममा व्यास नगरपालिकामा रहेका स्वर्णिम अन्तिम दिनको घरदैलो सकेर साँझ चितवन पुग्ने कार्यक्रम छ । ‘मौन अवधिअगाडिको अन्तिम चुनावी आमसभा चितवनमा हुँदैछ । मसहित बारामा हाम्रो पार्टीबाट उम्मेदवार बन्नुभएका रमेश खरेल पनि चितवन जाँदै हुनुहुन्छ,’ स्वर्णिमले भने, ‘चुनाव मतपरिणामको सवालमा म ढुक्क छु ।’ 

‘१० हजार मतान्तर हुन्छ’ 

विभिन्न क्षेत्रबाट तनहुँको उपचुनावको सर्वेक्षण भइरहँदा रास्वपाले पनि आन्तरिक रूपमा सर्वेक्षण गरेको छ । रास्वपाको आन्तरिक सर्वेक्षणअनुसार स्वर्णिमले करिब १० हजार मतान्तरले तनहुँ १ मा उपचुनाव जित्दैछन् । पार्टीका अनुसार गोविन्द भट्टराई वाग्लेको निकटतम् प्रतिद्वन्दी हुनेछन् भने सर्वेन्द्र खनालसँगको मतान्तर अझै ठूलो हुनेछ । 

‘हामीले आन्तरिक रूपमा गरेको सर्वेक्षणले हाम्रा उम्मेदवारले ठूलो मतान्तरसहित जित्दै हुनुहुन्छ,’ रास्वपा गण्डकीका महामन्त्री अशोक खड्काले भने, ‘जनस्तरबाट हामीप्रति देखिएको भरोसाले  पार्टीलाई अझै बढी जिम्मेवार बनाएको छ ।’

ठूला पार्टीहरूप्रतिको भरोसा टुट्नु, रवि लामिछाने र स्वर्णिम वाग्लेप्रति जनताको आशा बढी हुनु जस्ता कारणले रास्वपाप्रति जनता सकारात्मक बनेको पार्टीको बुझाइ छ । त्यसैमाथि चुनावी आमसभाको क्रममा नेपाली कांग्रेस र एमालेका नेताहरूले गालीगलौज तथा धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिँदा उनीहरूप्रति जनताहरू बढी आक्रोशित भएको रास्वपा दाबी गर्छ । रास्वपाले भने चुनावी आमसभामा उम्मेदवारको प्रतिबद्धता बाहेक अन्य प्रतिस्पर्धी कसैलाई पनि आक्षेप नलगाउने नीति लिएको बताएको छ । 

तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता छन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:३०
समसामयिक
Weather Update