News Griha :: न्यूजगृह
औरही बाबाको दर्शन गर्न जाने भन्दै श्रीमतीको हत्या, श्रीमान पक्राउ 

धनुषा— श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ३८ वर्षीय राजुनारायण यादव रहेका छन्। राजुकी श्रीमती ३६ वर्षीया रुबी यादवको हत्या उनैले गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

गत जेठ २६ गते महेन्द्रनगरबाट आफ्नी श्रीमती रुबी बेपत्ता भएको भन्दै उनी खोजी गरिदिन प्रहरी कार्यालय पुगेका थिए। प्रहरीका अनुसार यादवले श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेका थिए। 

प्रहरीले उनीमाथि शंका गर्दै हिरासतमा लिएर बयान समेत लिएको थियो। सो क्रममा उनले आफूले नै श्रीमतीको हत्या गरेको खोलेका थिए। राजुले जेठ २६ गते नै औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुबीलाई खोल्सामा पुर्‍याएर हत्या गरेको बयानमा बताएका हुन्। 

उनले प्रहरीसँगको बयानका क्रममा शव फालेको ठाउँका बारेमा बताएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। 

राजु केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए। रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:०४
Weather Update