News Griha :: न्यूजगृह
झापामा आमासहित २ नाबालक छोरा घरभित्रै मृत अवस्थामा भेटिए 

काठमाडौं— झापामा २ नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन्। 

शुक्रबार झापाको शिवसताक्षी नगरपालिका–३ स्थित अञ्जली बेस्रा र उनका २ छोरा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार मृत अवस्थामा फेला पर्नेमा आमा अञ्जलीसहित छोराहरू विशाल बेस्रा (८ वर्षीय)  र आयुष बेस्रा (२ वर्षीय) रहेका छन्।

‘एक आमासहित २ नाबालक मृत अवस्थामा फेला परेको घटना स्थानीयले खबर गरेपछि हामी अहिले घटनास्थलमा छौँ,’ उनले भने। 

बुढाथोकीका अनुसार मृतक अञ्जलीका श्रीमान तथा मृतक बालकको बाबु वैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहेका छन्।

अहिले स्थानीय जनप्रतिनिधिको रोहोबरमा मुचुल्का उठाउने काम भइरहेको उनले बताए। साथै शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १३:३८
Weather Update