News Griha :: न्यूजगृह
जसपा नेपालमा अध्यक्षबाहेक सबै पदाधिकारीका लागि आज मतदान

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो। 

उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक सबै पदाधिकारीमा मतदान हुन लागेको हो। २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो। 

मध्यान्ह १२ बजेदेखि मतदानको समय निर्धारण गरिएको छ। यसअघि हिजो अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मतदानको समय तोकिएको थियो। तर, सहमतिको प्रयास भन्दै मतदान प्रक्रिया स्थगित गरी बिहीबारका लागि सारिएको थियो। 

पार्टीको सहअध्यक्षमा लालबाबु राउत, राजकिशोर यादव र रकम चेम्जोङले उम्मेदवारी दिएका छन्। पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिलाको उम्मेदवारी परेको छ। 

यसैगरी महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजयकुमार, मनिष सुमन र अशोककुमार यादवले उम्मेदवारी दिएका छन्।  उपमहासचिवमा खुलातर्फ ९ र महिलातर्फ ३ जनाको उम्मेदवारी परेको छ। 

यसैगरी सातसचिव पदका लागि ३४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ। कोषाध्यक्ष एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। बाँकी १८१ केन्द्रीय सदस्य पदका लागि भने विभिन्न ‘क्लष्टर’ मा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०९:४१
Weather Update