
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
जनकपुरमा जारी महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताका क्रममा अध्यक्षमा उनको मात्र दाबी परेपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। तर औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले न्यूजगृहलाई जानकारी दिए।
‘अध्यक्षमा उहाँको मात्र उम्मेदवारी परेका कारण उहाँ निर्विरोध अध्यक्ष बन्नुभएको छ। तर औपचारिक घोषणा हुन बाँकी रहेको छ,’ उनले भने।
त्यस्तै अन्य पदहरुमा निर्वाचन हुने उनले बताए। आज जसपाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ। मधेस केन्द्रीत राजनीतिमा लामो समयदेखि आवद्ध उपेन्द्र १८ वर्षदेखि अध्यक्षको रुपमा रही आएका छन्।
उपेन्द्रको नेतृत्वमा गठन भएको मधेसी जनाधिकार फोरम गठनदेखि त्यसपछिका जुनसुकै पार्टीमा तालमेल र विभाजन भए पनि उनी अध्यक्षकै हैसियतमा आफूलाई उभ्याउँदै आएका छन्।