News Griha :: न्यूजगृह
बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो झण्डै १२ खर्ब 

काठमाडौं— चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब रेमिटेन्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव १ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार आठ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई १३ खर्ब एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले बढेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:४६
Weather Update