News Griha :: न्यूजगृह
सुदूरपश्चिममा माओवादीभित्र लफडा, मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई ५ सांसदको पत्र 
फाइल तस्बिर

काठमाडौं— सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम सिफारिस सम्बन्धमा असन्तुष्टी देखिएको छ। 

आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दीर्घ सोडारी नेतृत्वको सरकारमा पठाउन ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा ओम विक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिसमा परेको थियो। 

उक्त नाममा चित्त नबुझाएका ५ प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री सोडारीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरु खगराज भट्ट, झपटबहादुर साउद, शिवसिंह ओली, रमेश सिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री सोडारीको ध्यानाकर्षण गराएका हुन्। 

उनीहरुले संसदीय दल र पार्टीमा समेत कुनै छलफल नै नगरी संसदीय दलको नेताले आफूखुसि मन्त्रीहरुको नाम पेस गरेको आरोप लगाएका छन्। पार्टीभित्र आन्तरिक छलफल नै नगरी सिफारिसमा परेकाहरुलाई मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरेका छन्।  

‘...नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीमा छलफल नै नगरी संसदीय दलको नेताले आफूखुसि मन्त्रीहरुको नाम पेस गरेको भन्ने बुझ्न आएकाले सम्बन्धित दलको परामर्श बिना सिफारिस गरिएका नाममा हाम्रो गम्भीर आपत्ति रहेको व्यहोरा जानकारी गराउँदै मन्त्री नियुक्तिको प्रक्रिया अभिलम्ब रोक्न अनुरोध समेत गर्दछौँ,’ मुख्यमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ। 

गत वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका थिए। जसअनुसार माओवादीबाट ३ र एमालेबाट ३ जना मन्त्रीले आजै शपथग्रहण गर्ने तयारी रहेको थियो। यसअघि नेकपा एमालेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:५७
Weather Update