News Griha :: न्यूजगृह
आज सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री?  

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। 

मुख्यमन्त्री नियुक्त भएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सोडारीले आज एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ मन्त्री बनाउन लागेका हुन्। 

सत्ता साझेदार दल नेकपा एमालेका कारण यसअघि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एमालेले आन्तरिक छलफलपछि सरकारमा सामेल हुने ३ मन्त्रीको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक सुरेन्द्र पालले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार उनीसहित वीरबहादुर थापा र हिरा सार्की मन्त्री बन्दैछन्। पालका अनुसार उनको आर्थिक मामिला मन्त्रालयमा कुरा भइरहे पनि अन्य २ जनाको भने नाम टुंगो लागेको छैन। 

त्यस्तै यता माओवादी केन्द्रले पनि सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। माओवादीबाट ओमविक्रम सरल भाट, अक्कलबहादुर रावल र लक्ष्मी विक मन्त्री बन्दैछन्। नवनियुक्त मन्त्रीहरुले आजै शपथग्रहणको तयारी रहेको पालले जानकारी दिए। 

यसअघि मुख्यमन्त्री सोडारीले गत वैशाख १८ गते नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए। 

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले गत जेठ ३ गते विश्वासको मत समेत लिएका छन्।  

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:११
Weather Update