News Griha :: न्यूजगृह
स्क्वायर सहकारीमा बचतकर्ताको सात करोड बढी रकम हिनामिना, तीन सञ्चालक पक्राउ

काठमाडौं— काठमाडौं महानगरपालिका–२३ को मखनमा सञ्चालित स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा तीनजना सञ्चालकहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ ५९ पैसा हिनामिना गरेको आरोपमा आइतबार सञ्चालकहरूलाई पक्राउ गरेको हो।

सहकारीका अध्यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय वासुदेवमान जोशी, सचिव केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य नरदेवी बस्ने वर्ष ५८ का धर्म रत्न पाछैंलाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरू सबै जेठ २५ गते पक्राउ परेका हुन्।

उक्त सहकारीका सञ्चालकहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका दिलाएका थिए। 

संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिनेतर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेका थिए।

बचतकर्ताहरूको ७ करोड ४० लाख भन्दा बढी बचत रकम अपचलन तथा हिनामिना गर्ने सञ्चालक समितिका अध्यक्ष जोशीसहित ३ जनालाई काठमाडौं महानगरपालिका, नगर कार्यपालिका, सहकारी विभागको पत्रको आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सञ्चालक उपर सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ। साथै, प्रहरीले सो सहकारीबाट पीडित निक्षेपकर्ताहरूले यथाशीघ्र ब्युरोमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:४२
Weather Update