
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित टिप्पणीको खण्डन गरेका छन्।
केही दिन अघि ओलीले नेपालमा घुम्न आएका बेला मन्त्री भएको भन्दै शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै कटाक्ष गरेका थिए। त्यसको चौतर्फी आलोचनापछि ओलीले आफ्नो उक्त अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताए।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले त्यो कसैसँग सम्बन्धित नरहेको भन्दै त्यसलाई अनावश्यक ढंगले जोड्न नहुने भन्दै आफ्नो बचाउ गरे।
ओलीले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’
सो विषयमा रास्वपाका सांसद शिशिर खनालले संसद् बैठकमा ओलीको उक्त अभिव्यक्तिको आलोचना गरेका थिए।
मन्त्री सुमनाले पनि सामाजिक सञ्जालमा लेख्दै विदेशमा पढ्न जाँदैमा कोही पनि देशद्रोही नहुने भन्दै ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेकी थिइन्।
त्यस्तै फरक प्रसंगमा पत्रकारले गरेको प्रश्नमा ओलीले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा नेपाल लगायत छिमेकी देशका प्रधानमन्त्री सरिक हुने विषय सामान्य रहेको बताए। साथै बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न राजदूत फिर्ता बोलाउने निर्णय गरेकोमा सरकारलाई आवश्यक लागेरै सो कदम चालेको प्रतिक्रिया दिए।