News Griha :: न्यूजगृह
चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

काठमाडौं— नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वञ्चित रहेका छन् । उनीहरूले कुनै पनि खोप लगाउन पाएका छैनन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विशेषगरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । 

‘नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वञ्चित छन्,’ उनले भने । 

मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ । सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्नेछ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पुर्‍याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताए । 

नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पुर्‍याउन नसकिएको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिए । दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुईपटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपाङ्गता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ । 

खोप सप्ताहभर नियमित खोप प्रदान गरिनेछ । वैशाख १५ र ३१ गते भने सबै खोप दिइनेछ । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकुकुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:२७
Weather Update