News Griha :: न्यूजगृह
शेयर बजारमा सामान्य सुधार

काठमाडौं— शेयर बजार परिसूचकमा सामान्य सुधार छ। कारोबार रकम पनि बढेको छ। मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को बिन्दुमा रह्यो। 

८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ। १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन छैन। 

साताको पहिलो दिन बढेको शेयर बजार दोस्रो दिन घटेको थियो। सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ बिन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको थियो। यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार १३ मध्ये जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै बढेका छन्। व्यापार उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ। लघुवित्त उपसमूह १.४८ प्रतिशतले बढ्दा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहे। उक्त कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै नारायणी विकास बैंक, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत शेयरमूल्य बढेका कमप्नीको सूचीमा छन्। 

सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ। उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आइएमई लघुवित्तको १० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:०१
Weather Update