News Griha :: न्यूजगृह
विपन्नलाई नयाँ घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ 

रौतहट— प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो। 

विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ। 

माधवनारायण नगरपालिका ७ लौकाहा गाउँ बस्ने ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नगरपालिका–९ गेडहीगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर–५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा, वडा नम्वर–९ का ४५ वर्षीया रामकली देवीलाई पक्राउ गरेको हो।

गरिब असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउँदै रकम ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार माधवनारायण नगरपालिका–८, रजवडा टोलका स्थानीय विपन्न वर्गका मानिसहरूलाई आवास बनाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो। 

मधेस प्रदेशको सहरी विकास मन्त्रालयबाट गरिब र विपन्न वर्गका घर परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको भनी विभिन्न प्रलोभन देखाई प्रतिघर दश हजारदेखि चालीस हजार रुपैयाँसम्म रकम उठाएको आरोपमा पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ। 

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले  सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाईदिने भन्दै रकम असुल्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

यातायात व्यवस्था कार्यालय गौरबाट सेवाग्राहिलाई सवारी लाईसेन्स बनाईदिने भन्दै रकम मागेको आरोपमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई प्रहरीले पक्राउ गरेको हो। 
राजदेवी नगरपालिका वडा नं २ स्थित रहेको ट्रायल सेन्टरमा पुगेर परीक्षामा उर्तिण गराई लाइसेन्स बनाइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ। उनीहरुले १० हजारदेखि ३० हजार सम्म असुल्ने गरेको आरोप रहेको प्रहरीले जनाएको छ। 

२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो। कार्यालयबाट स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको सवारी चालक अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्य हुदै आएको छ।

कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएकाले बिचौलियाहरुसँग सम्पर्क नगर्न र प्रलोभनमा नपर्न अनुरोध गरेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:५७
Weather Update