बेलबारी— तरकारीका रूपमा प्रयोग हुने निहुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निहुरो टिप्न व्यस्त छन्।
वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयबासी निहुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए। उनी काठमाडौंलगायत सहरी क्षेत्रबाट माग बढेपछि यहाँका वन क्षेत्रबाट ठूलो परिमाणमा निहुरो बिक्री हुने गरेको बताउछन्।
‘स्वादिलो र स्वस्थ्यकर मानिएको तरकारीका रूपमा प्रयोग हुने निहुरोको माग हुन थालेपछि अहिले पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका वनबाट निहुरो टिप्न भ्याइनभ्याइ छ। जङ्गलमा बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्ने गरेको छ। हाम्रो सामुदायिक वनबाट मात्रै वार्षिक तीन करोडभन्दा बढीको निहुरो बाहिरिने गरेको छ,’ उनले भने, ‘वर्षायाममा मात्रै दैनिक १० गाडीभन्दा धेरै निहुरो संकलन हुन्छ, प्रत्येक गाडीमा पाँचदेखि छ हजार मुठा निहुरो निर्यात हुने गरेको छ।’
उनले धेरैजसो निहुरो काडमाडौं जाने गरेको बताए। विगत १० वर्षदेखि बेलबारी १० भाउन्नेमा निहुरोको व्यापार गर्दै आएकी स्थानीय भद्रमाया भट्ट्रराईले पहिले स्थानीयस्तरमा मात्र बिक्री हुने गरेकामा पछिल्लो समय काठमाडौंलगायत शहरबाट पनि माग आउन थालेको बताउछिन्।
‘निहुरो केही वर्ष पहिले अहिलेजस्तो काठमाडौं निर्यात हुँदैनथ्यो र बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पु¥याउनुपर्ने बाध्यता थियो तर अहिले भने काठमाडौँको माग धान्नै सकिएको छैन। त्यसैले स्थानीयस्तरमा रहेका अन्य व्यक्तिबाट संकलन गरेर हामीले काठमाडौंका व्यापारीलाई निहुरो बिक्री गर्ने गरेका छौँ,’ भट्टराईले भनिन्।
६९ वर्षीया भद्रमायाले यसै व्यवसायबाट दश जनाको परिवारको गर्जो टारिरहेको बताउँछिन्। भाउन्नेकी गीता दर्जी र मनमाया दर्जीलाई पनि हरेक वर्षायममा निहुरो टिप्ने भ्याइनभ्याइ हुन्छ। यसपटक पनि हरेक बिहान ७ बजे नै जङ्गल पसेर निहुरो टिप्नु उनीहरूको दिनचर्या नै भएको छ।
‘यसपटक पनि दैनिकजसो बिहान ७ बजेदेखि ११ बजेसम्म निहुरो टिप्छौँ, संकलन गरिएको करिब ४० मुठा १५ का दरले संकलन केन्द्रमा बिक्री गरिरहेकी छु,’ गीताले भनिन्।
गीता र मनमायाजस्तै यहाँका धेरै स्थानीयले वर्षायामभरी निहुरो टिपेर संकलन केन्द्रलाई बिक्री गरिरहेका छन्। केन्द्रले प्रतिमुठा दुई रुपैयाँ नाफा राखेर १७ रुपैयाँका दरले अन्य व्यापारीलाई बिक्री गर्ने गरेका छन्।
कृषि विज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निहुरो एक उन्यू प्रजातीको वनस्पति भएकाले चिस्यान क्षेत्रमा बढी उम्रिने गरेको र निकै स्वस्थ्यकर तरकारी मानिने भएकाले अहिले माग बढ्दै गएको हो। ‘निहुरोमा प्रोटिन, भिटामिन ‘ए’, क्याल्सियमलगायतका पोषक तत्व पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। त्यस्तै यसबाट पाइने भिटामिन ‘सि’ पनि पर्याप्त मात्रामा पाउने भएकाले आँखा र आइरनले रातो रक्तकोशिका वृद्धिमा पनि सहायता पुग्ने गरेको छ । पछिल्लो समय यो महत्व बुझ्न थालिएकाले सहरी क्षेत्रमा निहुरोको माग बढ्दैछ,’ डा उप्रेतीले भने।
पूर्वपश्चिम राजमार्गको उर्लाबारीदेखि बेलबारीसम्मका सडक किनारमा जङ्गलबाट टिपेर ल्याएको निहुरो बिक्रीका लागि राखिएका भेटिन्छन्। यसबाट यहाँका सयौँ परिवारको गुजारा चलेको बताउनुहुन्छ मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे। उनले निहुरो टिप्न आउनेको सङ्ख्यात्मक वृद्धि र माग बढेसँगै अब सामुदायिक वन उपभोक्ता समूहले त्यसललाई व्यवस्थित गर्नुपर्ने आजवश्यकता औँल्याए।
‘जङ्गली निहुरो टिपेर धेरैको गुजारा चलिरहेको छ, यो स्थानीको आम्दानीको स्रोत बन्नु राम्रो कुरा हो तर निहुरो टिप्दा जडीबुटीलगायत अन्य प्रजातीका बिरुवा नष्ट हुनसक्नेतर्फ सचेत रहँदै व्यवस्थापन र निगरानी बढाउनुपर्ने जरूरी छ,’ उनले भने,‘त्यसका लागि जङ्गल प्रवेश गर्ने व्यक्तिलाई स्थानीय सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहले परिचयपत्रको व्यवस्था गरेर मात्र प्रवेशाज्ञा दिनुपर्ने आवश्यकता छ।’
मोरङमा एक सय ३६ सामुदायिक वन र चारवटा साझेदारी वन रहेका छन्। हाल साझेदारी वनको नवीकरण गर्दा वन कार्ययोजनामा निहुरोसम्बन्धी कार्यक्रम समावेश गर्न थालिएको वन अधिकृत घिमिरेले बताए। बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गिरीले दैनिक ४० किलोमिटर टाढाबाट समेत दर्जनौँको सङ्ख्यामा निहुरो टिप्न साझेदारी वन क्षेत्रमा आउने गरेको बताए।
उनले अब कार्ययोजनामै समावेश गरेर निहुरो टिप्न जानेलाई अनिवार्य परिचयपत्रको व्यवस्था गरिने बताए। उक्त वन क्षेत्रबाट हाल दैनिक दुईदेखि तीन लाखको निहुरो निर्यात हुने गरेको जनाइएको छ।