News Griha :: न्यूजगृह
कहिले बन्छ मधेस प्रदेशमा नयाँ सरकार? 
फाइल तस्बिर

काठमाडौं— मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको खेल सुरु भएको छ। 

मुख्य दलहरु एमाले र माओवादी केन्द्रले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अहिले अल्पमतको सरकार चलाइरहेका छन्। 

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति भएसँगै नयाँ सरकार गठनका लागि तयारी थालिएको हो।  

आज प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको पहलकदमी लिनका लागि जनमत, एमाले र माओवादीसहित ७ दलले पत्र बुझाउँदैछन्। ७ दलका ६३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित पत्र बुझाउन लागिएको मधेस प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद शाहले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि आज प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको लागि पहलकदमी लिन आग्रह गर्न लागिएको हो। 

‘मुख्यमन्त्री आफू अल्पमतमा परे पनि न राजीनामा दिनुहुन्छ न विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘हामी आज ७ दलका ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखज्यूलाई नयाँ सरकार गठनका लागि पहलकदमी लिन आग्रह गर्दैछौँ।’ 

त्यसो त मुख्यमन्त्री यादवले पनि आगामी जेठ २३ गते मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। भोलिबाट मधेस प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरिएको छ। 

केन्द्रमा आएको सत्ता समीकरण फेरबदलपछि प्रदेशमा त्यसको असर देखिएको हो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको फुटपछि वर्तमान सरकारको उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उपेन्द्रले सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्र्ता लिएका थिए। त्यससँगै मधेसमा पनि जसपा नेपाल नेतृत्वलाई दिएको समर्थन माओवादी र एमालेले फिर्ता लिएको हो।  

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:४८
Weather Update