News Griha :: न्यूजगृह
दाङमा प्रहरी र गुठी पीडितबीच झडप, ४ जना घाइते  

काठमाडौं— दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। 

किसानहरुले आफूहरुको माग पूरा नभएको भन्दै नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिती सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तुलबहादुर विकले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ भने ४ जना घाइते भएका छन्।  

‘अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ,’ उनले भने, ‘झडपमा परि ४ जना व्यक्ति घाइते भएको र अस्पताल लगिएको जानकारी प्राप्त भएको छ।’ 

सरकारसँग गुठीको माग सम्बोधन गर्न २ महिना अघि समिति गठन गरेको तर अझैसम्म समस्या समाधान नभएको भन्दै उनीहरुले आज मालपोत र नापी कार्यालय घेरेका थिए। 

अहिले नाराबाजी भइरहेको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको उनले बताए।  

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:३४
Weather Update