
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा स्वयमसेवक बनाएर राख्ने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो। जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले सो नियम लागु गर्न निर्देशन दिएका थिए।
उक्त निर्णयकोविरुद्ध शुक्रबार कृष्ण विक, रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेस पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले रिट दायर गरेका हुन्।
उनीहरुले उक्त निर्णय बदर गर्न उत्प्रेषणको परमादेश जारी गर्न माग गरेका छन्।
‘त्यस्तो सडक कारबाहीमा परी बाटोमा उभ्याइएका चालकहरु उपर त्यस्तो गर्ने गरी भएको सबै पत्र, निर्णय चिट वा मौखिक आदेश समेत बदर गर्न उत्प्रेषणको परमादेशको आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ।
उनीहरुले गृहमन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र प्रहरी प्रधान कार्यालय नक्साललाई विपक्षी बनाएका छन्।













