News Griha :: न्यूजगृह
प्रहरीको उमेरहद पुनरावलोकनका लागि कार्यदल गठन 

काठमाडौं— नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद पुनरावलोकनका लागि कार्यदल गठन भएको छ।  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।  

७ सदस्यीय कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुनका उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेका छन्।

कार्यदलले मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ। 

हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाने व्यवस्था रहेको छ। त्यस्तै निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ६० वर्ष तोकिएको छ। यता प्रहरी तर्फ पनि ५८ वर्षीय उमेर हदलाई परिमार्र्जन गरी ६०  वर्ष पुर्‍याउनुपर्ने आवाज उठ्दै आएको थियो।

जेठ १५ गते बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीहरुको अवकाशको उमेर हदलाई पुनरावलोकन गरिने बताएका थिए। सोही अनुसार प्रहरीको उमेरहद पुनरावलोकनका लागि कार्यदल गठन गरिएको हो। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:५३
Weather Update