News Griha :: न्यूजगृह
कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतमाथि पनि अनुसन्धान हुने 

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित अन्य व्यक्तिमाथि पनि अनुसन्धान हुने भएको छ। 

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहिया बुधबार हाजिरी जमानीमा रिहा भएका छन्। 

उनी पक्राउ परेको ९ दिनमा हिरासतमुक्त भएसँगै उनलाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालमाथि अनुसन्धान गर्ने तयारी गरिएको हो। 

उनीहरुलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाबाट प्रहरीले अनुमति समेत लिएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले गत वैशाख १७ गते जाहेरी दर्ता गरेको थियो। प्रहरीले सिरोहियालाई पक्राउ गर्न जेठ ८ मा अदालतबाट अनुमति लिएको थियो। 

अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो।

हिजो साँझ जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो। 

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि जेठ १२ मा काव्य अस्पताल भर्ना गरिएका थिए। मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:०५
Weather Update