News Griha :: न्यूजगृह
रिहा भए कैलाश सिरोहिया

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिरी जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए। 

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासत मुक्त गरेको बताएका छन्।
जेठ ८ मा पक्राउ परेका उनी हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि जेठ १२ मा काव्य अस्पताल भर्ना गरिएका थिए। मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। 

सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो। साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृङ्खलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले गत वैशाख  १७ मा जाहेरी दर्ता गरेको थियो। प्रहरीले सिरोहियालाई पक्राउ गर्न जेठ ८ मा अदालतबाट अनुमति लिएको थियो। अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

सिरोहियाको रिहाइबारे राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले चासो राख्ने नेपाल सरकारलाई उनको रिहाइको आग्रह गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:३३
Weather Update