News Griha :: न्यूजगृह
घरमा एक्लै रहेकी वृद्धाको हत्या: संलग्न २ जना पक्राउ 

झापा— बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

बिष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो। 

त्यसबारे विष्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। 

गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो। हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए। कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दाबी छ। घटना भएपछि सिआईबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए।

बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको खन्तीले हानेर हत्या गरिएको थियो। 

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत मात्र दिएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:२३
Weather Update