News Griha :: न्यूजगृह
आ–आफ्नै अडानले बालुवाटार बैठक निष्कर्षविहीन, साँझ पुनः बस्ने

काठमाडौं— सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन बनेको छ। 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्ष्कमल दाहालसहित सत्ता र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो। तर आजको बैठकमा छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद् जीवन परियारले बैठकपछि सञ्चारकर्मीहरुसँग बताए। 

‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने। 

त्यस्तै सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका नामका विषयले कार्यदेशमा सहमति हुन सकिरहेको छैन।

सत्तापक्षले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्न नहुने अडान कायमै राख्दै आइरहेको छ भने प्रतिपक्षी कांग्रेसले गृहमन्त्रीको नाम किटान नगरी संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान कायम राख्दै आइरहेको हो। 

आजको बैठकमा पनि सो विषयमा छलफल भएको र आ–आफ्नो अडानका कारण सहमति हुन नसकेको उनले बताए। 

‘गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ। नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो। नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ, नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ,’ उनले भने। 

आजको बैठकमा सहमति हुन नसकेपछि कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्दैछ। दिउँसो १ बजेका लागि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बोलाइएको छ। उक्त बैठकपछि पुनः साँझ बस्ने सल्लाह भएको परियारले जानकारी दिए।

बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु समेत रहेका थिए। यसअघि शीर्ष नेताहरुबीच पनि छलफल भए पनि निष्कर्ष निस्किन सकिरहेको छैन। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:१४
Weather Update