
काठमाडौं— सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे सहमतिका लागि शीर्ष नेताहरुको बैठक बसेको छ।
केहीबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु बैठकमा उपस्थित रहेका छन्।
आजको बैठकमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउनका लागि गठित कार्यदलका संयोजकसहित सदस्यहरु समेत उपस्थित रहेका छन्।
यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। तर त्यसलाई अन्तिम रुप दिन शनिबार साँझ नै शीर्ष नेताहरु बसे पनि टुंगोमा पुग्न सकेका थिएनन्।
कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो। सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियार सहभागि रहेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका सांसद डा. स्वर्णिम वाग्ले, एमाले प्रमुख सचेतक समेत रहेका कार्यदल सदस्य महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे लगायतका नेताहरु सहभागि रहेका छन्।